बुटवल, २६ पुस ।
बुटवलमा जारी टेपबल क्रिकेट च्याम्पियनसिप २०२६ को उपाधिका लागि राधाकृष्ण क्रिकेट क्लब र लुम्बिनी नव युवा क्लब भिड्ने भएका छन । बुटवल उपमहानगरपालिकाको सहयोग, टेप बल काउन्सिल अफ नेपालको समन्वयमा पृथ्वीनारायण शाह स्र्पोटस फाउण्डेसन बुटवलको आयोजनामा शनिबार भएको सेमीफाईनलमा राधाकृष्ण क्रिकेट क्लबले रोट्याक्ट क्लब अफ तिलोत्तमालाई ६ विकेट तथा लुम्बिनी नव युवा क्लबले ग्राण्ड कस्मालाई १० विकेटले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो । फाईनल खेल आईतबार बिहान हुने फाउण्डेसनका अध्यक्ष निरज प्रताप खाँडले बताए ।
बुटवल रामनगरस्थित खेलमैदानमा भएको पहिलो खेलमा टस जितेर ग्राण्ड कस्मोले ब्याटिङ रोज्दै निर्धारित १० ओभरमा केवल ५६ रन बनायो । ग्राण्ड कस्मोका दीप कुर्मीले १० र रामनाथ कुर्मीले १० रन बनाए । कम स्कारेमा रोक्न लुम्बिनीका गंगेस हरिजनले ३, ईन्द्रजित यादव र सन्जय बन्गरले समान २–२ बिकेट लिए । झिनो लक्ष्य पछयाएको लुम्बिनीका ब्याटरहरुले बिना नोक्सानी ४.२ ओभरमा जित निकाले । लुम्बिनीका सजन बिटलुले ४६ तथा बिष्णु पाण्डेयले ९ रन जोडे । खेलमा सजन प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा टस जितेर ब्याटिङ रोज्दै मैदान रोट्याक्टका ब्याटरहरुले निर्धारित १० ओभरमा केवल ८३ रन बनायो । जसमा शिवशंकर मौर्याले १८ तथा अजय पाण्डेयले १६ रन जोडे । कम स्कोरमा रोक्न राधाकृष्णका बिशाल भुषाल र आजाद अहमदले समान ३–३ विकेट लिए । कम स्कोरलाई पछ्याएको राधाकृष्णले ९.१ ओभरमा ४ विकेटको नोक्सानीमा जित निकाल्यो । राधाकृष्णका विशाल भुषालले २४ तथा सम्राट थापाले २४ रन जोडे । रोट्याक्टका प्रदिप भण्डारीले ३ बिकेट लिए पनि जितका लागि पर्याप्त भएन । खेलमा राधाकृष्णका विशाल भुषाल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने फाउण्डेसनका अध्यक्ष निरज प्रताप खाँडले बताए । यसैगरि प्लेयर अफ दी सिरिजलाई नगद १५ हजार एवं उत्कृष्ट ब्याटर, उत्कृष्ट बलरलाई नगद पाच पाच हजार रुपैया, कपबाट पुरस्कृत गरिने छ । प्रतियोगितामार्फत जिल्लामा टेपबल क्रिकेटको विकास र विस्तार गर्नुका साथै युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने लक्ष्य रहेको उनले बताए । पुस २७ गतेसम्म चल्ने प्रतियोगिता १० ओभरको फम्र्याटमा खेलाईएको छ । प्रतियोगितामा ग्राण्ड कस्मो लुम्बिनी, देबिनगर क्रिकेट क्लब, लुम्बिनी नव युवा, मर्निङ क्रिकेट क्लब, रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देही, लुम्बिनी युथ क्लब, राधाकृष्ण क्रिकेट क्लब तथा सनाया होलिडेज ट्राभल्स लगायत आठ टिम सहभागी छन ।






















