काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी नियमित कप्तान तथा अनुभवी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बालाई हङकङमा सम्मानसहित नगद सहयोग गरिएको छ ।
अञ्जिला घर निर्माण परिवार हङकङले एक कार्यक्रम आयोजना गरी अञ्जिलालाई सम्मान गर्दै ४८ लाख ३४ हजार रुपैयाँ बराबरको नगद रकम हस्तान्तरण गरेको हो। प्राप्त रकम अञ्जिलाको घर निर्माणमा खर्च गरिने जनाइएको छ।
अञ्जिलाको बायोपिक चलचित्र ‘अञ्जिला’ प्रदर्शनबाट संकलित रकमसँगै हङकङमा रहेका उनका शुभेच्छुक तथा समर्थकबाट संकलित रकमसमेत जोडेर सहयोग गरिएको बताइएको छ ।
सम्मान तथा सहयोग रकम प्राप्त गरेपछि अञ्जिलाले सामाजिक सञ्जालमार्फत तस्बिरसहित लामो स्टाटस लेख्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।
अञ्जिलालाई सहयोग जुटाउने अभियानमा हङकङ परिवारका अध्यक्ष रबिन कुमार नाल्बो, उपाध्यक्षद्वय शेरबहादुर लक्सम्बा र भीमप्रसाद तुम्बाङ्फे, कोषाध्यक्ष श्याम इङ्नाम, सहकोषाध्यक्ष शान्ता वनेम तथा सचिव हाङ चेम्जोङसहित सदस्य तथा सल्लाहकारहरूको विशेष सहयोग रहेको जनाइएको छ ।
नेपाली महिला फुटबलमा लामो समयदेखि गोलरक्षकका रूपमा योगदान दिँदै आएकी अञ्जिला मैदानमा आफ्नो प्रदर्शनसँगै संघर्ष र प्रेरणादायी यात्राका कारण पनि समर्थकमाझ लोकप्रिय छिन् ।





















