"शरीरमाद्यं खलु धर्मसाधनम् ।”
[सबै कर्तव्य र धर्म पूरा गर्ने पहिलो माध्यम शरीर नै हो। अर्थात्, शरीर स्वस्थ भए मात्र अन्य सबै काम सम्भव छन्। -कुमारसम्भवम्]
मानव सभ्यताको इतिहास वास्तवमा मानव शरीरको ‘गति’ र ‘शक्ति’ को वृत्तान्त हो।
आज हाम्रो समाज एउटा भ्रममा बाँचेको छ।
प्राय सबै (विशेषगरी रोजगार,श्रमिक र कृषक ) वर्गमा एउटा धारणा बलियो छ— “म दिनभरि खेतबारीमा खट्छु, घॅासदाउरा गर्छु, भारी बोक्छु, घरधन्दा गर्छु, ८-१० घण्टा काममा व्यस्त हुन्छु। एकछिन फुर्सत छैन, त्यसैले मलाई व्यायामको किन आवश्यकता? के खॅाचो?” यो प्रश्न सुन्दा तर्कपूर्ण लागे पनि वैज्ञानिक रूपमा यो एउटा भयानक भूल हो। कल्याणकारी समाज निर्माणका लागि पहिलो शर्त नागरिकको स्वास्थ्य हो, र स्वास्थ्य बुझ्नका लागि ‘काम’ (Work) र ‘व्यायाम’ (Exercise) बीचको नितान्त भिन्नता बुझ्नु आजको समयको सबैभन्दा ठूलो आवश्यकता हो।
२.”स्वास्थ्य उही, शैली फरक”:
“हाम्रा पुर्खाहरूले त कहिल्यै Gym गएनन्, व्यायाम गरेनन् , तैपनि उनीहरू कसरी बलिया र निरोगी थिए?” यसको उत्तर वैज्ञानिक छ: प्राचिन मानिसलाई व्यायाम चाहिँदैनथ्यो किनकि उसको जीवन नै एउटा निरन्तर व्यायाम थियो।
कार्यात्मक चाल (Functional Movement): पुर्खाको ‘काम’ अहिलेको जस्तो एकाङ्गी थिएन। शिकार खेल्न, खेतीपाती, अन्न-पानी, घॅास-दाउरा गर्न कोशौ हिड्नु, दौडिनु, रुख चढ्नु र ढुङ्गा मुडा बोक्नु, जंगली जनावरसँग जुध्नु उनीहरूको दैनिकी थियो। यसमा शरीरका हरेक मांसपेशी र जोर्नीहरु पूर्ण रुपमा चलाएमान, सक्रिय र संचालित हुन्थ्यो।
ऊर्जा सन्तुलन(Energy Balance): आदिम कालमा ५०० क्यालोरीको खाना पाउन मानिसले १००० क्यालोरी खर्च गर्नुपर्थ्यो। आज हामी एकै ठाउँमा बसेर हजारौं क्यालोरी खान्छौं तर शारीरिक खर्च प्राय शून्य छ।
२५००-३००० क्यालोरी खान्छौ, १०००-१५०० क्यालोरी खर्च हुन्छ।
पुर्खा calories crisis मा थिए, हामी calories excess मा ।
“प्राचिन मानव जङ्गलमा स्वतन्त्र दौडने ‘जङ्गली घोडा’ जस्तै थिए। तर आधुनिक मानव तबेलामा बॅाधेको ‘पाल्तु घोडा’ जस्तै हुन, जसलाई यदि जबरजस्ती दौडाइएन (Exercise गराइएन) भने उसको शरीर कुँजिएर जान्छ।”
३. "न चास्ति सदृशं तेन किञ्चित् स्थौल्यापकर्षणम्।
न च व्यायामिनं मर्त्यमर्द्यन्त्यरयो बलात्॥”
[मोटोपना घटाउन व्यायाम जस्तो अर्को कुनै औषधि छैन। जसरी सिंहको अगाडि हात्ती आउन डराउँछ, त्यसै गरी व्यायाम गर्ने व्यक्तिलाई रोगहरूले आक्रमण गर्न डराउॅछन्।- चरक संहिता।]
काम र व्यायाम दुवैमा पसिना बग्छ, तर यिनको जैविक प्रभाव (Biological Impact)आकाश पातालको फरक छ:
* काम (Work): बाह्य उत्तरदायित्व र शरीरको क्षय
काम प्रायः दोहोरिने (Repetitive) र एकाङ्गी (Unilateral) हुन्छ। यसले शरीरका निश्चित अंगमा Repetitive Strain Injury (RSI) निम्त्याउँछ। कामले शरीरलाई बाह्य उत्तरदायित्व प्रयोग गर्छ र शरीरको ‘क्षय/ह्रास’ गराउदछ।
व्यायाम (Exercise) व्यक्तिको आन्तरिक स्वतन्त्रता र पुनर्जागरण को प्रकृया हो। कलियुगमा व्यायाम शरीरको ‘सर्भिसिङ’ हो। यसमा सन्तुलित चाल (Symmetrical Movement) हुन्छ। यसले काममा प्रयोग नभएका कमजोर अंगहरूलाई बलियो बनाउँछ र शरीरलाई ‘चैतन्यता’ तर्फ लैजान्छ।
४. "शरीरचेष्टा या चेष्टा स्थैर्यार्था बलवर्धिनी।
देहव्यायामसंख्याता सा समाधेयतः स्मृता॥"
[शरीरलाई स्थिर राख्न र बल बढाउन गरिने शारीरिक चेष्टा नै व्यायाम हो। यसलाई सधैँ नियमपूर्वक गर्नुपर्छ। -सुश्रुत संहिता!]
*व्यायामले हाम्रो शरीरभित्र दुईवटा अत्यन्तै महत्वपूर्ण चिकित्सा प्रक्रियाहरू सुरु गर्छन्। त्यो हो कोषकीय र मानसिक क्रान्ति (Autophagy र Neurogenesis)!
जुन ‘काम’ ले मात्र सम्भव छैन।
Autophagy (अटोफेजी):यो ग्रीक शब्दबाट बनेको हो, जसको अर्थ आफैँलाई खानु (‘Self-eating’ ) हुन्छ। यो कोषिकाको ‘Self-cleaning’ प्रक्रिया हो।
जब हामी कडा व्यायाम गर्छौँ वा केही समय भोको बस्छौँ, शरीरका कोषिकाहरू (Cells) मा ऊर्जाको कमी हुन्छ। यस्तो बेला कोषिकाहरूले आफ्नै भित्र रहेका पुराना, क्षतिग्रस्त वा विषाक्त प्रोटिन र अंगहरूलाई पहिचान गर्छन्।
ती पुराना भागहरूलाई ‘रिसाइकल’ गरेर नयाँ र स्वस्थ ऊर्जामा बदलिन्छ।
यसले क्यान्सर, अल्जाइमर र बुढ्यौली (Aging) सँग सम्बन्धित समस्याहरूलाई रोक्न मद्दत गर्छ। व्यायामले यो “सफाइ इन्जिन” लाई तीव्र बनाउँछ।
(नोटः The 2016 Nobel Prize in Physiology or Medicine was awarded to Yoshinori Ohsumi, Professor at the Tokyo Institute of Technology. २०१६ को नोबेल पुरस्कार यसै विषयमा थियो)।
Neurogenesis (न्यूरोजेनेसिस): पहिले विश्वास गरिन्थ्यो कि वयस्क भएपछि मस्तिष्कका कोषिकाहरू (Neurons) थपिँदैनन्, तर यो गलत प्रमाणित भइसकेको छ।
विशेषगरी मुटुको धड्कन बढ्ने व्यायाम (Cardio) गर्दा मस्तिष्कमा BDNF (Brain-Derived Neurotrophic Factor) नामक प्रोटिनको मात्रा बढ्छ। यो प्रोटिनले मस्तिष्कको Hippocampus (सिक्ने,सिकाउने र सम्झने भाग) मा नयाँ न्यूरोन्सहरू जन्माउन मद्दत गर्छ।
मस्तिष्कको संरचनात्मक विकास हुन्छ।
यसले स्मरणशक्ति बढाउँछ, मानसिक तीक्ष्णता दिन्छ र डिप्रेसन तथा चिन्ता (Anxiety) बाट बचाउँछ।
व्यायाम गर्दा मस्तिष्कमा BDNF (Brain-Derived Neurotrophic Factor) नामक प्रोटिन बढ्छ, जसले मस्तिष्कको स्मरणशक्ति र सिक्ने भागमा नयाँ न्यूरोन्स (मस्तिष्क कोषिका) जन्माउँछ। यसले डिप्रेसन र Anxiety बाट जोगाउँछ।
५. काम र व्यायामले हर्मोनको रसायनशास्त्र र मेरुदण्डको मेकानिक्स फरक- फरक कोणबाट प्रभाव पार्छन्। हाम्रो शरीर हर्मोनहरूको प्रयोगशाला हो।
* कामले Cortisol हर्मोन बढाउँछ। यसलाई ‘Stress Hormone’ भनिन्छ। लामो समयसम्म यसको उच्च स्तरले शरीरमा Chronic Inflammation (भित्री सुजन र दुखाई) र Metabolic Disorders निम्त्याउँछ।
व्यायामले Endorphins, dopamine र Serotonin उत्सर्जन गर्छ, जसले प्राकृतिक रूपमा दुखाइ कम गर्छ र मनलाई शान्त र खुशी राख्छन्।
Endorphins (इन्डोर्फिन): शरीरको प्राकृतिक ‘Painkiller’ र ‘Mood Elevator’ हो। व्यायाम गर्दा निस्कने यो रसायनले अत्यधिक खुसी (Euphoria )को अनुभूति गराउँछ।Dopamine (डोपामाइन): ‘Reward Molecule’ हो । यसले कार्यक्षमता र प्रेरणा (Motivation) बढाउँछ।
Serotonin (सेरोटोनिन): यसले निद्रा, भोक र मानसिक सन्तुलन (Mood Stability) लाई नियन्त्रण गर्छ।
Spinal Alignment: आधुनिक ‘बस्ने संस्कृति’ (Sitting Disease) ले मेरुदण्डको प्राकृतिक बनावटनै बिगारिदिएको छ। व्यायामले Spinal Alignment मिलाउँछ र स्नायु प्रणालीलाई ‘सर्ट सर्किट’ हुनबाट जोगाउँछ।
६. एउटा स्वस्थ नागरिकले आफ्नो लागि मात्र कमाउने होईन राष्ट्रको उत्पादकत्व पनि बढाउँछ। त्यसैले स्वास्थ्य नै धन हो।
यदि समाजमा व्यायामको संस्कार बस्यो भने नसर्ने रोगहरू (Non-Communicable Diseases) जस्तै हाड- जोर्नी , नशा, तनाव- चिन्ता, निराशपन, मुटु र मधुमेह जस्ता दिर्घरोगमा कमिमात्र आउदैन, यसबाट सिर्जित हुने व्यक्तिगत पिडा, पारिवारीक समस्या, मानसिक तनाव , आर्थिक खर्च र समय जोगिन्छ। व्यायाम गर्नु भनेको ‘उपचार’ मा खर्च हुने पैसालाई ‘उत्पादन’ मा लगाउने आर्थिक क्रान्ति हो।
३० वर्षपछि मांसपेशी सुक्दै जाने प्रक्रिया (Sarcopenia) सुरु हुन्छ। कामले शरीरलाई झुकाउँछ, तर ‘रेजिस्टेन्स ट्रेनिङ’ वा व्यायामले हड्डीको घनत्व (Bone Density) र मांसपेशीको शक्ति कायम राख्छ। यसले वृद्ध अवस्थामा परनिर्भर हुनबाट बचाउँछ।
"युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु।
युक्तस्वप्नावबोधस्य योगो भवति दुःखहा॥"
[ जसको आहार (खाना), विहार (घुमफिर), कर्म (काम) र सुत्ने-जाग्ने समय सन्तुलित छ, उसको योग (व्यायाम/साधना) ले सबै दुःखहरूको नाश गर्छ। – श्रीमद्भगवद्गीता ६:१७]
**स्वास्थ्य साक्षरताको आह्वान***
कामले शरीरको ऋण तिर्छ,
तर
व्यायामले शरीरलागि बचत गर्छ।
ऋण मात्र तिर्ने मानिस कहिल्यै समृद्ध हुँदैन।
त्यसैले आउनुहोस व्यायामलाई ‘फुर्सदको काम’ होइन, ‘अस्तित्व रक्षा’ को नियममा बदलौं।
“आजको पसिना, भोलिको अमृत हो।
“व्यायामाल्लभते स्वास्थ्यं दीर्घायुष्यं बलं सुखम्।"
[व्यायामबाट स्वास्थ्य, दीर्घायु, बल र सुख प्राप्त हुन्छ।]
उठौं, जागौं र आफ्नो शरीरलाई यन्त्रबाट मन्दिरमा रूपान्तरण गरौँ!”
मनको गोठालो
बुटवल



















