Spread the love

काठमाडौँ । भारतीय पूर्व तीव्र गतिका बलर जहीर खान इन्डियन प्रिमियर लिग (आईपीएल) टोली चेन्नई सुपर किङ्स (सीएसके) को नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् । जहीरले २०२७ को आईपीएलदेखि चेन्नईको प्रशिक्षण सम्हाल्ने छन् । उनले लामो समय टोलीको मुख्य प्रशिक्षक रहेका स्टेफन फ्लेमिङको स्थान लिएका हुन् ।

फ्लेमिङको प्रशिक्षणमा चेन्नईले पाँच पटक आईपीएलको उपाधि जितेको थियो । ४७ वर्षीय जहीरले खेलाडीका रूपमा १४ वर्ष भारतीय क्रिकेट टोलीमा बिताएका थिए । सन् २०११ मा भारतले एकदिवसीय विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए। आईपीएलमा उनले १०० खेल खेल्दै १०२ विकेट लिएका छन् । खेलाडी जीवनपछि जहीर लखनउ सुपर जायन्ट्सका मेन्टर तथा मुम्बई इन्डियन्सको व्यवस्थापन टोलीमा समेत आबद्ध थिए । मुख्य प्रशिक्षकका रूपमा भने चेन्नई उनको पहिलो जिम्मेवारी हो ।

जहीरले खेलाडीका रूपमा सन् २०१० र २०११ मा चेन्नईविरुद्ध आईपीएल फाइनल खेलेका थिए । यस्तै, सन् २०१९ र २०२० मा मुम्बई इन्डियन्सले आईपीएल उपाधि जित्दा उनी टोलीको व्यवस्थापनमा रहेका थिए । पछिल्ला सिजनमा चेन्नईको प्रदर्शन अपेक्षाअनुसार हुन सकेको छैन । तीन वर्षअघि उपाधि जितेयता टोलीले प्लेअफमा स्थान बनाउन सकेको छैन । सन् २०२५ मा अन्तिम स्थानमा रहेको चेन्नईले त्यसपछि युवा खेलाडीलाई प्राथमिकता दिँदै टोली पुनर्निर्माणको रणनीति अघि बढाएको थियो । फ्लेमिङ सन् २००८ देखि खेलाडी र प्रशिक्षकका रूपमा चेन्नईसँग आबद्ध थिए । उनले सन् २०२६ को जुलाईमा मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्