जनकपुरधाम, १४ साउन ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै जनकपुरधामका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको साउन १४ गते बसेको बैठकको निर्णयका आधारमा साउन १४ गते दिउँसो ३ः३० बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कफ्र्यु लागू गरिएको हो ।
प्रशासनले कफ्र्यु अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा तथा धर्ना गर्न निषेध गरेको छ । आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ । कफ्र्यु लागू गरिएका क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोकदेखि सिन्धुलीजोडा चोक तथा लक्ष्मीपुर चोकसम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एम.के. स्टिलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म र पश्चिमतर्फ सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुरदुधमती पुल–बेला, कादरी मस्जिदसम्मका क्षेत्र समेटिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कफ्र्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न प्रशासन र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ ।





















