बुटवल, १२ साउन ।
वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमणको बिरोधस्वरुप नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । मंगलबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरिरहदा केही चिकित्सक र नीजि अस्पताल संचालकहरु भने साथ नदिएको पाईएको छ ।
केही अस्पतालका आकस्मिक कक्षमा ओपिडी बिरामीहरुको उपचार भएको गुनासो केही चिकित्सकहरुले गरेका छन । आफनै सुरक्षाको विषयमा गरिएको आन्दोलनमा केही चिकित्सकहरुबाट साथ नदिनु दुखद भएको उनले भने । गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमण तथा अस्पतालमा तोडफोडका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुव्र्यवहारका दोषीहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाही हुनुपर्ने माग रहेको छ ।
नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डा कृष्ण खरेलले कारवाहीको माग गर्दै साकेतिक स्वरुप आन्दोलन थालेको भन्दै यसमा केही चिकित्सकहरु र अस्पताल ब्यवस्थापनबाट सहयोग नभएको स्वीकारे । संस्थागत रुपमा बन्द आह्वान गरिएको भन्दै केही अस्पताल ब्यवस्थापनबाट अटेर गरि चिकित्सकहरु बिरामी जाँच गरेको सुचना आएको उनले बताए । आकस्मिक कक्षबाटै बिरामी जाँच भएको सुचना आएको र प्रमाण संकलनमा लागेको उनले बताए ।
घटनाप्रति ऐक्यबद्धता जनाउदै आन्दोलन परिचालन समिति गठन भएको छ । शाखाले आन्दोलन तथा सम्बन्धित गतिविधिको समन्वयका लागि निजी मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिक, सरकारी अस्पताल र अनुगमन तथा निरीक्षण गरी चारवटा समिति गठन गरिएको हो ।





















