काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सोमबार ट्रमा सेन्टर पुगेर डा. रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन चिकित्सक तथा अस्पताल प्रशासनलाई निर्देशन दिईन ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार डा. रामलाई विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउन आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाइएको छ । उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गर्दै मन्त्री मेहताले मन्त्रालय उपचारका लागि आवश्यक सबै सहयोग गर्न प्रतिबद्ध रहेको बताईन ।
यसैबीच मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उपचारका क्रममा उत्पन्न हुने कुनै पनि विवाद वा अप्रिय घटनाको समाधानका लागि प्रचलित कानुनी व्यवस्था विद्यमान रहेकाले कानून हातमा लिएर हिंसात्मक गतिविधि गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने मन्त्रालयको स्पष्ट धारणा छ ।
मन्त्रालयले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही अघि बढाउन स्थानीय प्रशासनलाई आग्रह गरेको छ । साथै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्भय वातावरणमा सेवा प्रवाह गर्न सक्ने अवस्था सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ । मन्त्री मेहताले स्वास्थ्यकर्मीमाथिको हिंसा कुनै पनि सभ्य समाजका लागि अस्वीकार्य भएको उल्लेख गर्दै स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण कायम गर्नु सरकारको प्राथमिक दायित्व रहेको बताउनुभयो। यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक कानुनी तथा प्रशासनिक कदम प्रभावकारी रूपमा अघि बढाइने उनले बताईन ।






















