काठमाडौँ, १८ कार्तिक ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि जापानी राजदूत माएदा तोरुबीच स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा नेपाल र जापानबीचको घनिष्ठ सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोगका सम्भावित क्षेत्रबारे छलफल भएको हो ।
भेटका क्रममा मन्त्री मेहताले भोटेकोशी बाढीबाट प्रभावित रसुवा लगायतका जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत, प्राविधिक उपकरण तथा प्रविधि सम्बन्धी सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । उनले वीर अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थामा जापानले पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रमा जापानको योगदान महत्त्वपूर्ण रहेको बताइन् ।
सो अवसरमा जापानी राजदूत माएदा तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताका आधारमा जापान सरकार सहयोग गर्न तयार रहेको बताए । उनले नेपाल र जापानबीचको सम्बन्ध तथा सहकार्यलाई आगामी दिनमा थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।




















