Spread the love

काठमाडौं, ११ साउन ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले विशेषगरी कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार आज दिउँसो कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ । रातिको समयमा भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने जनाइएको छ ।
आज हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ । कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन् ।

विभागका अनुसार हिमाली क्षेत्रका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ ।

रातिको समयमा पनि देशभर सामान्य बदली रहने र हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार आज बेलुका र भोलि पनि देशका अधिकांश स्थानमा वर्षा जारी रहने सम्भावना छ । यद्यपि पूर्वी तराईका धेरै क्षेत्रमा भने अझै पर्याप्त वर्षा हुने सम्भावना कम रहेको उनले बताएका छन् । मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाको आसपास रहेकाले वर्षाको क्रम केही दिन निरन्तर रहने विभागको अनुमान छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्