बुटवल, २३ पुस ।
टेपबल क्रिकेट खेलको प्रवद्र्धन गर्ने गरि रुपन्देहीमा पहिलोपटक प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग, टेप बल काउन्सिल अफ नेपालको समन्वयमा पृथ्वीनारायण शाह स्र्पोटस फाउण्डेसन बुटवलको आयोजनामा बुटवलमा विहिबारदेखी टेपबल क्रिकेट च्याम्पियनसिप २०२५ हुने भएको हो ।
बुटवल रामनगरस्थित खेलमैदानमा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको फाउण्डेसनका अध्यक्ष निरज प्रताप खाँडले बताए । जिल्लामै पहिलोपटक हुन लागेको यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई नयाँ प्लेटफर्म प्रदान गर्ने अध्यक्ष खाँडको दाबी छ । टेनिस बललाई इलेक्ट्रिक टेपले बेरेर खेलिने क्रिकेट प्रतियोगिता थोरै ओभर, सानो मैदानमा प्रायः ६–८ खेलाडीहरु बिचमा हल्का ब्याट, सामान्य स्टम्प, धेरै सुरक्षा सामग्री आवश्यक नपर्ने, कम खर्चिलो हुने हुदा पनि नेपालसहित दक्षिण एसियामा निकै लोकप्रिय हुँदै गएको उनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्लेयर अफ दी सिरिजलाई नगद १५ हजार एवं उत्कृष्ट ब्याटर, उत्कृष्ट बलरलाई नगद पाच पाच हजार रुपैया, कपबाट पुरस्कृत गरिने छ ।
प्रतियोगितामार्फत जिल्लामा टेपबल क्रिकेटको विकास र विस्तार गर्नुका साथै युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने लक्ष्य रहेको उनले बताए । पुस २७ गतेसम्म चल्ने प्रतियोगिता १० ओभरको फम्र्याटमा सञ्चालन हुने तथा ८ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा ग्राण्ड कस्मो लुम्बिनी, देबिनगर क्रिकेट क्लब, लुम्बिनी नव युवा, मर्निङ क्रिकेट क्लब, रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देही, लुम्बिनी युथ क्लब, राधाकृष्ण क्रिकेट क्लब तथा सनाया होलिडेज ट्राभल्स सहभागी हुनेछन ।





















