काठमाडौं,६ साउन ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा नेपाली कांग्रेसले जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने नारासहित ‘ग्रीन रन’ कार्यक्रम गरेको छ ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा यूएन पार्कबाट सुरु भएको पाँच किलोमिटर लामो दौडमा सभापति गगनकुमार थापा, उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्मा लगायत नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।
कांग्रेसले ‘ग्रीन रन’मा सहभागी हुने व्यक्तिको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम पार्टीको कोषबाट छुट्याएर ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने जनाएको छ। कार्यक्रममार्फत कांग्रेसले जलवायु सचेतनासँगै विस्थापित सुकुम्बासी परिवारका लागि ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने घोषणा पनि गरेको छ ।
उक्त कोषबाट पछिल्लो समय विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासी परिवारका वृद्धवृद्धा तथा बालबालिकाको हितमा सहयोग गरिने जानकारी दिइएको छ।





















