काठमाडौं, ३० असार ।
आकस्मिक अवस्थामा आवश्यक रगत खोज्नुपर्ने बिरामी र उनका आफन्तका लागि राहत पुग्ने गरी सरकारले नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल सञ्चालनमा ल्याएको छ । अब नागरिक एपमार्फत देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौज्दात रियल–टाइममा हेर्न सकिने भएको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नयाँ सेवामार्फत प्रयोगकर्ताले आफूलाई आवश्यक पर्ने रक्त समूह कुन रक्तसञ्चार केन्द्रमा उपलब्ध छ, कति युनिट मौज्दात छ भन्ने जानकारी नागरिक एपबाटै प्राप्त गर्न सक्नेछन् । यसले रगत खोज्न अस्पताल–अस्पताल वा रक्तसञ्चार केन्द्रमा फोन गरेर जानकारी लिनुपर्ने झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।
मन्त्रालयले स्वास्थ्य सेवालाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘रक्त सूचना’ सेवालाई नागरिक एपसँग एकीकृत गरिएको जनाएको छ ।





















