बुटवल, २८ असार ।
विद्यालय–अभिभावक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित स्कलर्स होम बोर्डिङ सेकेन्डरी स्कुलमा प्यारेन्ट्स–टिचर्स मिटिङ सम्पन्न भएको छ । विद्यालयले विद्यार्थीको समग्र शैक्षिक विकासलाई केन्द्रमा राख्दै विभिन्न तहका विद्यार्थीका अभिभावकका लागि चरणबद्ध रूपमा मिटिङ सञ्चालन गरेको हो ।
कार्यक्रमअन्तर्गत नर्सरीदेखि यूकेजी, कक्षा १–२, ३–४, ५–७ तथा ८–९ सम्मका अभिभावकका लागि छुट्टाछुट्टै एक–एक दिनको भेटघाट तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो । कक्षा १० का विद्यार्थीका लागि भने विद्यार्थी, अभिभावक र शिक्षकबीच त्रिपक्षीय (थ्री–वे कन्फ्रेन्स) छलफल सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा निरन्तर मूल्याङ्कन प्रणाली सम्बन्धी अभिमुखीकरणसमेत सञ्चालन गरिएको थियो । अभिमुखीकरणमार्फत विद्यार्थीको दैनिक सिकाइ, कक्षाकोठामा सहभागिता, गृहकार्य, परियोजना कार्य, व्यवहार तथा समग्र प्रगतिका आधारमा गरिने मूल्याङ्कन प्रक्रियाबारे अभिभावकलाई जानकारी गराइएको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले बताए । विद्यालय र अभिभावकबीच हुने नियमित भेटघाट, अन्तक्र्रिया तथा निरन्तर समन्वयले विद्यार्थीको सिकाइ, अनुशासन, व्यवहार र समग्र शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने उनले बताए ।
शिक्षक र अभिभावकबीचको बलियो सहकार्यबाट प्रत्येक विद्यार्थीको प्रगतिको निरन्तर अनुगमन गर्न सहज हुने र यसबाट उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न विद्यार्थी थप प्रेरित हुने उनले बताए । कार्यक्रममा ७५० भन्दा बढी अभिभावकको सक्रिय सहभागिता रहेको थियो ।



















