काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले नर्वेलाई र अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् । अब सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच रोमाञ्चक भिडन्त हुने भएको छ ।
अमेरिकाको कान्सास सिटीमा भएको क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको १० औँ मिनेटमा कप्तान लियोनेल मेसीको उत्कृष्ट पासमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६७औँ मिनेटमा रिकार्डो रोड्रिगेजको पासमा डान न्डोएले गोल गर्दै स्विट्जरल्यान्डलाई खेलमा फर्काएका थिए ।
७२औँ मिनेटमा ब्रिल एम्बोलो दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित बने पनि निर्धारित समयसम्म थप गोल हुन दिएन । तर अतिरिक्त समयको ११२औँ मिनेटमा जे. लोपेजको पासमा जुलियन अल्भारेजले निर्णायक गोल गरे । त्यसपछि अन्तिम समयमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।
यता, अर्को क्वार्टरफाइनलमा जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । खेलको ३६ औँ मिनेटमा एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफ सकिनुअघि बेलिंघमले बराबरी गोल फर्काउँदै इंग्ल्यान्डलाई खेलमा फर्काए । दोस्रो हाफको ५४औँ मिनेटमा टोबजान हेगमले गोल गरे पनि भिडियो सहायक रेफ्रीको परीक्षणपछि एर्लिङ हालान्डले गोल हुनुअघि फाउल गरेको ठहर गर्दै गोललाई मान्यता दिइएन । निर्धारित समय र इन्जुरी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको ९३ औँ मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि विजयी गोल गर्दै इंग्ल्यान्डलाई अन्तिम चारमा पु¥याए ।






















