Spread the love

काठमाडौं, २६ असार  ।

संयुक्त अरब इमिरेट्स (यूएई) का आधिकारिक मान्यता नपाएका कलेजमा नेपाली विद्यार्थी पठाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थाका ९ जना सञ्चालकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका उनीहरूले यूएईको उच्च शिक्षा मन्त्रालयअन्तर्गतको एमओएचईएसआर/सिएए बाट स्वीकृति नपाएका कलेजमा अध्ययनका लागि विद्यार्थी पठाएको आरोप छ। प्रहरीका अनुसार ती कलेजमा अध्ययन गरेपछि फ्रान्स, अष्ट्रेलियालगायत मुलुकका मान्यता प्राप्त विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर हुने भन्दै विद्यार्थीलाई भ्रममा पारेर आर्थिक ठगी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यस प्रकरणमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ठगी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर शुक्रबार ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा एडुपोर्ट प्रालिका सञ्चालकहरू रुपक कोइराला (४०), राजेश भण्डारी (३७) र सन्तोष खतिवडा (३७), वेष्टफोर्ड एजुकेशन प्रालिका सञ्चालक चिन्टु श्रेष्ठ (सोनी श्रेष्ठ), प्रोप एभिएसन प्रा.लि. का सञ्चालकहरू सुरेन्द्र महर्जन (३८), दिवस पोखरेल (३५), मनित आचार्य (२६) र शेखर पाण्डे (३९) तथा एस्पायर ग्लोबल प्रा.लि. का सञ्चालक विशाल चापागाई (२७) रहेका छन्।

प्रहरीले विदेश अध्ययनका लागि आवेदन दिनुअघि सम्बन्धित कलेज तथा विश्वविद्यालय सम्बन्धित देशको आधिकारिक निकायबाट मान्यता प्राप्त छ वा छैन भन्ने विषयमा अनिवार्य रूपमा यकिन गर्न तथा कन्सल्टेन्सीले गर्ने दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्