काठमाडौं । बाँके र पर्सामा प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगर र १०२ केजीभन्दा बढी गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ उधौपूर्वबाट प्रहरीले ८० ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय जसवन्त चौहान लोनिया र ३७ वर्षीया मिना कुमारी लोनिया रहेका छन् । प्रहरीले खानतलासी गर्ने क्रममा जसवन्त चौहान लोनियाले हातको मुठ्ठीभित्र प्लास्टिकको पोकामा लुकाइराखेको अवस्थामा ब्राउन सुगरजस्तो देखिने खैरो गिलो पदार्थ बरामद गरेको जनाएको छ । दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।
यस्तै, पर्साको जगरनाथपुर गाउँपालिका–२ सोनबर्सा क्षेत्रमा इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले बिआर ०१ सियू ३५४४ नम्बरको सेतो स्पोट्र्स कारबाट १०२ केजी ६३८ ग्राम गाँजा बरामद गरेको छ । भारततर्फ जाँदै गरेको उक्त कारलाई जाँच गर्ने क्रममा कारभित्र लुकाइराखिएको १० वटा पोकामा गाँजा फेला परेको प्रहरीले जनाएको छ । घटनामा भारतको बेतिया, नवलपुर निवासी अन्दाजी ३२ वर्षीय गुडु बर्मालाई गाँजा र स्पोट्र्स कारसहित पक्राउ गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति, बरामद लागूऔषध तथा सवारी साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।





















