बुटवल, १२ असार ।
नेपाल फार्मेसी संघ, रुपन्देहीले औषधिको बिक्री–वितरणमा बढ्दो अत्यधिक छुट तथा अस्वस्थ प्रतिस्पर्धाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै गुणस्तरीय, सुरक्षित र विश्वासिलो औषधि सेवा सुनिश्चित गर्न सम्बन्धित निकायलाई प्रभावकारी अनुगमन गर्न आग्रह गरेको छ । संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत पछिल्लो समय सञ्चार माध्यममा औषधिको गुणस्तर र आपूर्ति प्रणालीसँग सम्बन्धित समाचार सार्वजनिक भइरहेका सन्दर्भमा संघको धारणा सार्वजनिक गरेको हो ।
संघका अनुसार औषधि मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील वस्तु भएकाले यसको खरिद, बिक्री र प्रयोगमा विशेष सावधानी अपनाउन आवश्यक छ । औषधि व्यवसाय सञ्चालन गर्ने सबै फार्मासिस्ट तथा सहायक फार्मासिस्टले प्रचलित कानुन, व्यावसायिक आचारसंहिता र नैतिक मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा संघले जोड दिएको छ ।
विज्ञप्तिमा पछिल्लो समय बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा तथा १० प्रतिशतदेखि २५ प्रतिशत वा सोभन्दा बढी छुट दिने प्रवृत्तिले औषधिको मूल्य, गुणस्तर र आपूर्ति प्रणालीबारे विभिन्न प्रश्न उठाएको उल्लेख गरिएको छ । अत्यधिक छुटको नाममा उपभोक्ता आकर्षित गर्ने अभ्यासले औषधिको गुणस्तर, भण्डारण व्यवस्था र आपूर्ति शृङ्खलामा समेत नकारात्मक प्रभाव पार्न सक्ने संघका जिल्ला अध्यक्ष चोकलाल सापकोटाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
सर्वसाधारणलाई केवल छुटको आधारमा औषधि खरिद नगर्न आग्रह गर्दै दर्तावाला तथा विश्वासिलो फार्मेसीबाट मात्रै औषधि खरिद गर्न समेत विज्ञप्तीमा सुझाव दिइएको छ । साथै औषधिको उत्पादन मिति, ब्याच नम्बर, समाप्ति मिति तथा प्याकेजिङसम्बन्धी विवरण राम्रोसँग जाँच गरेर मात्र औषधि प्रयोग गर्न अनुरोध गरेको छ ।
औषधिको मूल्य निर्धारण तथा छुटसम्बन्धी प्रचलित कानुनी व्यवस्था विपरीत गरिने अनियमित छुट र भ्रामक प्रचारप्रसारले स्वस्थ व्यावसायिक प्रतिस्पर्धामा असर पु¥याउने भएकाले सम्बन्धित नियामक निकायले प्रभावकारी अनुगमन तथा आवश्यक कारबाही गर्नुपर्ने संघले माग गरेको छ ।





















