तिलोत्तमा, १२ असार ।
३९औँ अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवस–२०८३ को अवसरमा रूपन्देहीमा सचेतनामूलक कार्यक्रम गरिएको छ । तलोत्तमा नगरपालिका–९, मंगलापुरस्थित साइनो केन्द्र (लागूऔषध, मद्यपान उपचार तथा पुनःस्थापना केन्द्र) को आयोजनामा बिहीबार लागूऔषध दुव्र्यसनविरुद्ध दीप प्रज्वलन तथा सामूहिक प्रतिवद्धता कार्यक्रम सम्पन्न भएको हो ।
समाजमा लागूऔषध दुव्र्यसनका कारण बढ्दो सामाजिक, आर्थिक तथा स्वास्थ्यसम्बन्धी समस्याबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका तिलोत्तमा नगरपालिका–९ का वडा अध्यक्ष ध्रुव न्यौपानेले लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि परिवार, विद्यालय, समुदाय र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताए । उनले युवापुस्तालाई लागूऔषधको कुलतबाट जोगाउन सचेतनामूलक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । यसैगरि इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी सहायक निरीक्षक होमनाथ पौडेलले लागूऔषध नियन्त्रणमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सचेतना र सहकार्यबाट मात्र दुव्र्यसन न्यूनीकरण गर्न सकिने बताए ।
कार्यक्रममा साइनो केन्द्रका सचिव बिमल ढकाल, दिलमान थापा, उपेन्द्र श्रेष्ठले लागूऔषध दुव्र्यसनका नकारात्मक असरबारे सचेत रहँदै युवालाई कुलतबाट टाढा राख्न सबै पक्ष संयुक्त रूपमा अभियान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । दीप प्रज्वलनमार्फत लागूऔषधमुक्त समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता समेत जनाइएको थियो ।




















