झापा, १२ असार ।
जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषध सेवनकर्ता तथा कारोबारीविरुद्ध सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ४९ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले असार ११ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म जिल्लाका विभिन्न शंकास्पद स्थानमा अपरेसन सञ्चालन गरेको थियो ।
उक्त अभियानमा ३८ जना लागूऔषध सेवनकर्ता (३७ पुरुष र १ महिला) तथा ११ जना मुख्य कारोबारी गरी कुल ४९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ३८ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा ३ ग्राम ९०० मिलिग्राम गाँजा बरामद गरिएको छ । बरामदमध्ये सबैभन्दा धेरै २० ग्राम ४१० मिलिग्राम खैरो हेरोइन शिवसताक्षी नगरपालिका–७ स्थित एक घरको कोठा खानतलासीका क्रममा फेला परेको प्रहरीले जनाएको छ ।
प्रेस विज्ञप्तिअनुसार दमक, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, इलाम र अर्जुनधारा क्षेत्रबाट विभिन्न व्यक्तिलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको हो । पक्राउ परेका ९ जना मुख्य कारोबारीलाई हिरासतमा राखी लागूऔषध (नियन्त्रण) ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लागूऔषध सेवनकर्ताहरूलाई भने आवश्यक मनोपरामर्श सेवा प्रदान गरी अभिभावकको जिम्मा लगाउने तथा आवश्यकताअनुसार पुनःस्थापना केन्द्रमा पठाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।





















