Spread the love

काठमाडौं ।
पाँच पटकको विश्वकप विजेता ब्राजिलले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । बुधबार भएको खेलमा स्कटल्यान्डलाई ३–० ले पराजित गर्दै अन्तिम ३२ मा स्थान पक्का गरेको हो ।

ब्राजिलको जितमा खेलमा भिनिसियस जुनियरले दुई र माथेउस कुञ्हाले एक गोल गरे । भिनिसियसले खेलको सातौं मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले पहिलो हाफको अन्त्य हुनुअघि अर्को गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।

समूह चरणका तीनै खेलमा गोल गरेका भिनिसियसले प्रतियोगितामा आफ्नो गोल संख्या चार पु¥याएका छन् । यससँगै उनी फ्रान्सका किलियन एमबाप्पेसँग बराबरीमा पुगेका छन् । प्रतियोगितामा अर्जेन्टिनाका लिओनल मेसी पाँच गोलसहित शीर्ष स्थानमा छन् ।

ब्राजिलका स्टार खेलाडी नेयमार ७६ औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै प्रतियोगितामा पहिलो पटक खेले । दाहिने खुट्टाको पिँडुलामा लागेको चोटका कारण उनले ब्राजिलका पहिलो दुई खेल गुमाएका थिए । ३४ वर्षीय नेयमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले १३० अन्तर्राष्ट्रिय खेलमा ७९ गोल गरेका छन् । ब्राजिलका लागि पछिल्ला तीन विश्वकपमा सहभागी भएका नेयमारले विश्वकपमा कुल आठ गोल गरेका छन् ।

सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको स्कटल्यान्ड यस प्रतियोगिताको चर्चित टोलीमध्ये एक बनेको छ । ‘टार्टन आर्मी’ नामले चिनिने स्कटल्यान्डका समर्थकले आफ्ना टोलीका खेलअघि बोस्टन र मियामी क्षेत्रमा उत्साहपूर्ण माहोल सिर्जना गरेका थिए । यद्यपि, स्कटल्यान्डले विश्वकप इतिहासमा यसपटक पनि समूह चरण पार गर्न सकेन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्