Spread the love

काठमाडौं, १० असार ।

चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत जेठ महिनामा देशभर कुल ५,०५१ वटा अपराधका मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको प्रदेशगत अपराध विवरणअनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी १,५४१ मुद्दा दर्ता भएका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम २२४ मुद्दा दर्ता भएका छन् ।

प्रदेशगत विवरण अनुसार बागमती प्रदेशमा ५५६, लुम्बिनी प्रदेशमा ७७७, गण्डकी प्रदेशमा ४३९, कोशी प्रदेशमा ९०१, मधेश प्रदेशमा ९६४ तथा सुदूरपश्चिम प्रदेशमा ३५७ मुद्दा दर्ता भएका छन् । दर्ता भएका शीर्ष १० अपराधमध्ये बैंकिङ कसुर सबैभन्दा अगाडि रहेको छ । यस शीर्षकअन्तर्गत १,१३५ मुद्दा दर्ता भएका छन्, जुन कुल मुद्दाको करिब १९.७४ प्रतिशत हो । त्यस्तै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका ८४३, आत्महत्यासम्बन्धी ६८९ तथा लागुऔषधसम्बन्धी ६२६ मुद्दा दर्ता भएका छन् ।

त्यसैगरी, भवितब्य ज्यान सम्बन्धी ४६४, चोरी सम्बन्धी ४११, जबरजस्ती करणीका २७२, ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभका २६७, फुटकर ज्यान सम्बन्धी १७१ र सवारी ज्यान सम्बन्धी १४५ मुद्दा दर्ता भएका छन् ।
प्रहरीका अनुसार अपराध तथ्यांकअनुसार ज्यान सम्बन्धी ८३६, आत्महत्यासम्बन्धी ६८९, चोरी सम्बन्धी ४११, संगठित/आर्थिक अपराध सम्बन्धी ९८०, सामाजिक अपराध सम्बन्धी ९२३, महिला तथा बालबालिकाविरुद्धका ४२७, सवारी सम्बन्धी २०० तथा विविध १,२८५ मुद्दा दर्ता भएका छन् ।

प्रहरीको तथ्यांकले जेठ महिनामा अपराध दर्ता संख्या अघिल्लो वैशाख महिनाको ५,०५१ मुद्दाकै हाराहारीमा स्थिर रहेको देखाएको छ । सम्बन्धित निकायले बैंकिङ कसुर, लागुऔषध तथा सार्वजनिक हितविरुद्धका अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्