बुटवल, ७ असार ।
तराई क्षेत्रमा बढ्दो तापक्रमका कारण जनजीवन प्रभावित भइरहेका बेला रोयल ग्रुप बुटवलले यात्रु तथा सर्वसाधारणलाई लक्षित गर्दै चिसो पानी, मोही र बिस्कुट वितरण गरेको छ । रोट्याक्ट क्लब अफ बुटवलको सहकार्यमा बुटवलको राजमार्ग चौराहामा ‘सेवा नै धर्म हो’ भन्ने नारासहित चिसो पानी वितरण कार्यक्रम–२०८३ सञ्चालन गरेको हो ।
सामाजिक क्षेत्रमा सक्रिय रोयल ग्रुप बुटवलले अत्यधिक गर्मीका कारण हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै पिउने पदार्थ वितरण गरेको समूहका अध्यक्ष बोनिन पियाले बताए । गर्मीमा हुने डिहाइड्रेसनबाट बचाउन चिसो पानी, मोही, गुड तथा बिस्कुट वितरण गरि संस्थाबाट सामाजिक कार्य गरेको उनले बताए ।
कार्यक्रम संयोजक सर्जु नारायण श्रेष्ठले बिहान ९ बजेदेखि सुरु गरिएको कार्यक्रममा करिब ६०० लिटर पिउने पानी, ६० लिटर मोही तथा बिस्कुट वितरण गरिएको बताए । राजमार्ग हुँदै यात्रा गर्ने सयौं यात्रु तथा स्थानीय सर्वसाधारणले कार्यक्रमबाट प्रत्यक्ष लाभ लिएका थिए । समूहका महासचिव जीवकान्त काफ्लेले सदस्य विश्व घिमिरेद्धारा आफ्ना स्वर्गीय बुबाको स्मृतिमा ६० लिटर मोही सौजन्य गरेको जानकारी दिए ।
अत्यधिक गर्मीका बेला निःशुल्क पिउने पदार्थ वितरण कार्यक्रमबाट धेरै यात्रु र सर्वसाधारणलाई राहत पुगेको सदस्य अभिषेक भारीले बताए । समूहले विगत लामोसमयदेखी यस क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।





















