काठमाडौं,६ असार । ललितपुरको बालकुमारीमा प्रहरीले गोली प्रहार गरि लागुऔषधका कारोबारीहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले खैरो हेरोइन कारोबारमा संलग्नहरू माथि गोली चलाएर ३ जना कारोबारीलाई नियन्त्रणमा लिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
कारोबारेलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको बताइएको छ । प्रहरीको गोली प्रहारबाट पर्साको पटेर्वा सुगौली गाउँपालिका४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया घाइते भएका छन् ।
उनको दाहिने खुट्टामा गोली लागेको बताइएको छ । कैलाली घर भएका २५ वर्षीय अशोक भुल र सप्तरी राजगढ गाउँपालिका–३ घर भएका १८ वर्षीय नीरज कुमार मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
मण्डलको साथबाट प्रहरीले ३०२ ग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुवास बोहराले बताए ।





















