लुम्बिनी, ३ असार । लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजनामा “विद्यार्थी जीवनमा अनुशासन सफलताको आधार” विषयक नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, अभिव्यक्ति क्षमता तथा सकारात्मक सोचको विकास गर्न प्रतियोगिता आयोजना गरीएको नगरपालिकाले जनाएको छ । प्रतियोगितामा कर्महवा माध्यमिक विद्यालयका मोहम्मद साद फकिर प्रथम, तेनुहवा सामुदायिक विद्यालयका मोहमद रैहान खान द्वितीय, लर्ड बुद्ध इङ्लिस बोर्डिङ स्कुलकी किशलाउती गुप्ता तृतीय तथा करुणा महिला विद्यालयकी आरफा खातुन सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।
कार्यवाहक नगर प्रमुख कल्पना हरिजनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, उपसचिव हरिप्रसाद ज्ञवाली तथा लेखा अधिकृत रामचन्द्र अर्याल को उपस्थिति रहेको थियो। प्रतियोगिताको मूल्याङ्कन समितिमा लुम्बिनी बौद्ध विश्वविद्यालयका सहायक प्राध्यापक अन्जु खनाल, उपप्राध्यापक सन्जय शाक्य तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्व शिक्षा समिति सदस्य ध्रुवचन्द्र त्रिपाठी सहभागी रहेका थिए।
कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षा सहायक अधिकृत प्रमिला पछाईले गरेकी थिईन् ।





















