काठमाडौं,२९ जेठ ।
नेपाली कांग्रेसले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गरेको छ ।
अद्यावधिक अभियानमा हालसम्म ५ लाख ३८ हजार ६२२ सदस्यले सदस्यता अद्यावधिक गरेका छन् । क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये बिहीबार राति १२ बजेसम्म ५ लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत आफ्नो सदस्यता नम्बर प्राप्त गरिसकेको कांग्रेसले जनाएको छ ।
यस्तै, १ लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फाराम पेश गरी वडा सभापतिमार्फत अद्यावधिक प्रक्रियामा सहभागी भएका छन् ।
कांग्रेसले इन्टरनेट पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, दुर्गम पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने जनाएको छ । अभियानमा देशभरका क्रियाशील सदस्यहरूको उत्साहजनक सहभागिता रहेको कांग्रेसले जनाएको छ ।




















