बर्दघाट, २५ असार ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४ तारेभिरमा बस र ट्रक एकआपसमा ठोक्किँदा ७ जना यात्रु घाइते भएका छन् । बिहान करिब ६ बजे काठमाडौँबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ६८२३ नम्बरको यात्रुबाहक बसको ब्रेक फेल भएपछि अगाडि गुडिरहेको लु २ ख ९४९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करपछि बस अनियन्त्रित भई सडकको बायाँतर्फ रहेको नालीमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दाङको तुल्सीपुर उपमहानगरपालिका–२ निवासी १८ वर्षीया अनिसा न्यौपानेको बायाँ खुट्टा भाँचिएको छ । अन्य ६ जनाको मुख, नाक तथा निधारमा सामान्य चोट लागेको बताइएको छ । घाइते सबैको चिसापानी अस्पताल, बर्दघाटमा उपचार भइरहेको छ । दुर्घटनापछि केही समय राजमार्गमा सवारी आवागमन प्रभावित भए पनि हाल यातायात सेवा सामान्य अवस्थामा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।





















