बुटवल, १८ जेठ ।
बुटवलमा सम्पन्न पृतनापति ट्रफि –२०८३ को उपाधि श्री नं.१९ बाहिनी अड्डाले चुमेको छ । नेपाली सेनामा रहेका खेलाडीहरुको क्षमता विकास तथा क्षमतावान खेलाडीहरुको पहिचान गर्ने उदेश्यका साथ श्री मध्य पश्चिम पृतना हेड क्वाटर बुटवलमा सोमबार सम्पन्न प्रतियोगितामा ६ विधामा प्रथम हुदै श्री नं. १९ बाहिनी अड्डाले उपाधि चुमेको हो ।
स्वीमिङ, तेक्वाण्डो, बक्सिङ, जुडो, एथ्लेटिक्स र बास्केटबलमा बाहिनी प्रथम भएको थियो । प्रतियोगिताको बास्केटबल खेलमा बर्दबहादुर गण, भलिबल खेलमा तारा दल गण र फुटबलमा शम्सेर दल गण प्रथम हुन सफल भएका छन । सोमबार भएको निक्कै प्रतिस्प्रर्धात्मक फुटबल खेलको फाईनलमा शम्शेर दल गणले जित निकालेको थियो । फाईनल खेलमा गोलरहित बराबरी भएपछि ट्राईबेकरमा धकेलिएको थियो ।

ट्राईबेकरका शम्शेर दलले बाजी मार्यो । यसैगरि एथ्लेटिक्समा १० किलोमिटर दौड महिलामा तारा गणकी प्रमिला खड्का प्रथम तथा ज्वाला गणका निमा थापा दोस्रो भईन । यसैगरि पुरुषतर्फ भने चण्डी दल गणका निराजन जैसी प्रथम, द फेमश महेन्द्र गणका किशोर राई दोस्रो भए ।
प्रतियोगिताका विभिन्न खेलहरुमा सर्वोत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो । बास्केटबल खेलमा मनिष गाहा, भलिबलमा तारादल गणका ईश्वर राना, फुटबलमा शमशेर दल गणका अमि याखा, उत्कृष्ट गोलकिपर शमशेर दल गणका शुशिल श्रीवास्तव तथा फुटबलमा सर्वाधिक गोलकर्ता बर्दबहादुर गणका पाण्डुदिप दनुवार घोषित भए ।
एक समारोहका बिच श्री मध्य पश्चिम पृतना हेड क्वाटरका पृतनापति हिम्मत बहादुर बिष्टले विजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै खेलाडीहरुबाट भएको लामोसमयको प्रयास, अभ्यास, खेल अनुसासनको परिणामका रुपमा सफलता प्राप्त भएको बताए । सेनामा रहेर खेलाडीहरुमा भएको क्षमता प्रदर्शन गर्ने अवसरका रुपमा खेल प्रतियोगिता रहेको भन्दै आगामी दिनमा थप सफलताको उनले कामना गरे ।

प्रतियोगितमा नं.१९ बाहिनी अन्तर्गत श्री बर्द बहादुर गण, चण्डीदल गण, सुर्यदल गण, ज्वालादल गण र सिद्धिबक्स गण त्यसैगरी २२ बाहिनी अन्तर्गत श्री शम्सेरदल गण, तारादल गण, गोरखदल गण, दि फेमश महिन्द्रदल गण, श्री केवलजंग गुल्म, रामवाण गुल्म, बीरभद्रजंग गुल्मका खेलाडीहरु सहभागी रहेको पृतना हेड क्वाटरका सह चिफ अफ स्टाफ तथा पृतनापति ट्रफी मुल सञ्चालन समितिका संयोजक महासेनानी सन्जिव सिलवालले बताए ।
जेठ ४ गतेबाट सञ्चालन भएको पृतनापति ट्रफी–२०८३ मा सामूहिक खेल तर्फ फुटबल, बास्केटबल र भलिबल गरि ३ तथा व्यक्तिगत तर्फ बक्सिङ्ग, तेक्वान्दो, जुडो, एथ्लेटिक्स र पौडी सहित ५ बिधामा खेलहरु भएका थिए । पृतनापति ट्रफीमा उत्कृष्ट हुने गण तथा खेलाडीहरुले प्रधान सेनापति ट्रफी २०८३ मा प्रतिस्प्रर्धा गर्ने अवसर पाउछन ।





















