काठमाडौ,७ जेठ । विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु भएको छ । ८ वटा विश्वविद्यालयको उपकुलपति पदका लागि कूल २१८ उम्मेदवारको आवेदनमाथि विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि बनाएर छनोट प्रक्रिया सुरू भएको हो ।
सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ५० जनाले आवेदन दिएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि ३८/३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५, राजर्षि जनक विश्वविद्यालयका लागि २७ जनाले आवेदन दिएका छन् ।
मन्त्रालयमा रहेको छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र दरखास्त दिन गत वैशाख २५ गते आव्हान गरेको थियो । गत वैशाख २४ गते स्वीकृत ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ स्वीकृत भएको थियो ।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएको सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेशबाट विभिन्न विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्तिको प्रक्रिया सुरु भएको हो ।छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलसहित सम्बन्धित विश्वविद्यालयका लागि सम्बन्धित विज्ञ रहेको समिति गठन गरिएको छ ।



















