काठमाडौं,२३ वैशाख । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत जलवायु विज्ञान महाशाखा मातहतको जलवायु विश्लेषण शाखाले आइतबार यस वर्षको मनसुन ऋतुको जलवायु आकलन सार्वजनिक गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन याममा अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ।
महाशाखाका अनुसार कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको हावापानी विश्लेषण शाखाले जनाएको छ।
त्यसैगरी कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको शाखाको भनाइ छ।बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। सामान्यतया जेठ अन्तिम साता (जुन १३ मा) बंगालको खाडी हुँदै नेपालमा मनसुन भित्रने गर्छ ।




















