काठमाडौँ,१६ वैशाख । आजदेखि तीन दिनसम्म देशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार साँझदेखि हावाहुरी सुरु भई पर्सि वैशाख १७ गते बिहानसम्म यसको प्रभाव रहने सम्भावना रहेको छ । कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्न सक्ने बिभागले जनाएको छ ।
हावाहुरीका बेला सकेसम्म घरबाहिर हिँडडुल नगर्न, घरका झ्यालढोका राम्रोसँग बन्द गर्न, कमजोर छाना भए मजबुत बनाउन, घरबाहिर आगो नबाल्न तथा घरभित्र आगो बाल्दा पनि सतर्क रहन बिभागले आग्रह गरेको छ ।






















