बुटवल, ११ वैशाख ।
तिलोत्तमा नगरपालिकाका दलित महिलाहरुका लागि समुदायमा आधारित क्षमता विकास तालिम शुरु भएको छ । वडा सञ्जाल विकास समिति, तिलोत्तमा–१३ को आयोजनामा दलित महिलाहरुका लागि दुई दिने समुदायमा आधारित क्षमता विकास तालिम शुक्रबारदेखि सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष नारायण ढकालले दलितहरुका लागि संविधानमा विविध हक, अधिकार प्रदान हुने उल्लेख भएपनि सोबाट बन्चित हुनुपरेको बताए । दलित महिलाहरुलाई अधिकारबारे बुझाउने, सक्षम र योग्य बनाउने गरि क्षमता अभिवृद्धि तालिम गरिएको उनले बताए ।
तालिममा वडा सदस्य सम्झना परियारले संविधान, दलित अधिकार र कार्यान्वयनका कठिनाईका बारेमा प्रकाश पारिन ।
तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङ र सामाजिक उद्यमी गीतारानी बलाल मगरले क्षमता अभिवृद्धिको अर्थ, वृद्धिका तरिका, उद्यमशीलता, उद्घोषण र भाषण कलासम्बन्धि विषयवस्तुमा सहजीकरण गरेका छन् ।
सहभागी लिला परियार र संगीता परियारले पहिलो दिनको तालिम उपलब्धिमुलक भएको भन्दै धेरै कुरा सिक्न पाएको अनुभव सुनाए । तालिमलाई मनोरञ्जन दिन रितिका परियारले नृत्य प्रदर्शन समेत गरेकी थिईन् ।
कार्यक्रममा करौली टोल विकास संस्थाका अध्यक्ष अमरबहादुर राना र दलित नेता संजीव रणपाल, रुद्र तिवारी र संस्थाका अध्यक्ष होमबहादुर छन्त्यालले यस प्रकारको क्षमता विकासका कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने बताए ।





















