कपिलवस्तु, २९ चैत्र ।
कपिलवस्तुमा सम्पन्न ‘दोस्रो मिस्टर कपिलवस्तु पुरुष शारीरिक सुगठन प्रतियोगिता’ को उपाधि सुरेन्द्र बर्माले चुमेका छन् । तौलिहवास्थित पावर जिमका बर्माले ६५ केजी तौल समूहको विजेता बन्दै विधागत विजेताहरूलाई पछि पारेर ‘ओभरअल च्याम्पियन’ को टाइटल हात पारेका हुन् । बिजेता बनेसँगै उनले नगद ५० हजार रुपैया, ट्रफि हात परे । उनी प्रथम मिष्टर कपिलवस्तुका विजेता समेत हुन् ।
शारीरिक सुगठन खेलको विकास र स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यका साथ कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा भएको प्रतियोगिताको ६० केजी समूहमा बुद्ध जिमका महफुज अलि दर्जी प्रथम भए । त्यस्तै पावर जिमका समसाद मुसलमान र अल्फाज खान क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल भए । ६५ केजी समूहमा पावर जिमका शैलेन्द्र प्रसाद कसौधन दोस्रो र बुद्ध जिमका योगमणि तिवारी तेस्रो बने ।
७० केजी समूहमा हेल्थ फिटनेसका विकास श्रेष्ठ प्रथम भए । पावर जिमका सुग्रीव कुर्मी दोस्रो र हेल्थ फिटनेसकै बिरु यादव तेस्रो भए । ७५ केजी समूहमा हेल्थ फिटनेसका ईश्वर पुन प्रथम, पावर जिमका मो. इस्तेखार हलवाई दोस्रो र एमएनएस जिमका शैलेन्द्र श्रीमल तेस्रो भए ।
एक समारोहका बिच शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका केन्द्रीय उपाध्यक्ष सितु प्रसाद श्रेष्ठ, छैठौं धर्म श्री बिजेता जीवन गिरी, कपिलवस्तु नगरपालिकाका बडा अध्यक्ष प्रकाश गैरे,संघका अध्यक्ष कृष्ण थापाले विजेता, उपविजेता, उत्कृष्ट खेलाडीहरुलााई पुरस्कार वितरण गरे ।
प्रतियोगितामा अन्तराष्ट्रिय निर्णायक केशव बहादुर शाक्य, बरिष्ठ निर्णायक शिवध्वज राई र राष्ट्रिय निर्णायक राजकुमार श्रेष्ठले निर्णय गरेका थिए । प्रतियोगितामा चार तौल समूहमा २५ खेलाडीहरु बिच प्रतिस्पर्धा भएको संस्थाका सचिव मनिष कार्कीले बताए ।






















