Spread the love

मोरङ ।
नेपालको स्वास्थ्य क्षेत्रलाई औषधिमा आत्मनिर्भर बनाउने लक्ष्यसहित मोरङको बुढीगंगा गाउँपालिका–२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय मापदण्डको सलाइन उत्पादन उद्योग ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा आएको छ । जर्मन प्रविधिमा आधारित अत्याधुनिक मेसिनरी प्रयोग गरिएको यस उद्योगले विश्वस्तरीय गुणस्तरको सलाइन उत्पादन सुरु गरेको हो ।

एक समारोहका बिच नेपालका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले उद्घाटन गदै अत्यावश्यक औषधि स्वदेशमै उत्पादन हुनु राष्ट्रका लागि गौरवको विषय भएको बताए । औषधिमा परनिर्भरता घटाउनतर्फ यो महत्वपूर्ण कदम भएको उनले बताए । “यदि गुणस्तरमा कुनै सम्झौता नगरी निरन्तरता दिन सकियो भने यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पु¥याउनेछ,” उनले भने ।

उद्योगीद्वय दिनेश ठाकुर र रञ्जित भगतको पाँच वर्ष लामो अध्ययन, अनुसन्धान र लगानीपछि यो परियोजना साकार भएको हो । कम्पनीले पहिलो चरणमै ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ अन्तर्गत १०० एमएलदेखि ३ हजार एमएलसम्मका सलाइन उत्पादन सुरु गरिसकेको छ । आगामी चरणमा साना मात्राका ‘स्मल भोल्युम प्यारेन्टरल्स’ तथा आँखा र कानका औषधि उत्पादन गर्ने योजना रहेको सञ्चालकले बताएका छन् ।

उत्पादन लागत र बजार मूल्यबीच सन्तुलन नहुँदा शुरुवाती चरणमा नै घाटा सहेरै उत्पादन गर्नुपरेको सञ्चालक ठाकुरले बताए । “हाम्रो उद्देश्य सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउनु हो, तर नीतिगत कमजोरीका कारण लागतअनुसार मूल्य समायोजन हुन सकेको छैन ।” उनले भने । उनले स्वदेशी औषधि उद्योगको संरक्षणका लागि सरकारबाट नीतिगत सुधार र सहुलियत आवश्यक रहेकोमा जोड दिए ।

हाल उद्योगले १५० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने दक्ष जनशक्ति र आधुनिक व्यवस्थापन प्रणालीमार्फत उत्पादन प्रक्रिया सञ्चालन भइरहेको छ । दीर्घकालीन रूपमा नेपाली औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने लक्ष्यसमेत कम्पनीले राखेको छ । नेपालको औषधि बजारमा विदेशी कम्पनीहरूको वर्चस्व रहँदै आएको अवस्थामा ‘एलेक्सा लाइफसाइन्सेज’को प्रवेशलाई आयात प्रतिस्थापन र स्वास्थ्य क्षेत्रको आत्मनिर्भरता मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्