काठमाडौं, २८ चैत । देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न सरकारर्ले निर्देशन दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाई सुरक्षित एवं गोपनीयता सुनिश्चित भएको स्तनपान एवं शिशु हेरचाहकक्ष सञ्चालन गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जारी गरेको निर्देशनमा विमानस्थलको सरसफाइ अन्तराष्ट्रिय मापदण्डअनुरुप बनाउन, दैनिक सरसफाइ ‘लगबुक’ प्रणाली कायम गर्न, विश्व स्वास्थ्य सङ्गठन र अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठनले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइएको छ ।
शौचालयमा महिला यात्रीका लागि निःशुल्क ‘स्यानिटरी प्याड’ व्यवस्था गर्न र मन्त्रालयले दिएका निर्देशन कार्यान्वयन गरी मन्त्रालयमा सूचना प्रवाह गर्न निर्देशन गरेको छ ।
आम नागरिक तथा यात्रीलाई पनि सरकारका तीन निर्देशन कार्यान्वयन भएनभएको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारीलाई दिन निर्देशन गरेको छ ।






















