Spread the love

भैरहवा, ११ चैत्र ।

रुपन्देहीमा जारी प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा न्यु होराइजन क्रिकेट क्लब र जेआर क्रिकेट क्लबले जित निकालेका छन् । पहिलो खेलमा न्यू होराइजनले तिरुपति क्रिकेट क्लबलाई १ विकेट र जेआरले बुटवल युथ क्लबलाई ६ विकेटले पराजित गरेका हुन ।

पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको तिरुपतिले १६ ओभर ३ बलमा सबै विकेट गुमाएर ८६ रनको झिनो योगफल खडा गर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा होराइजनका अनिश भट्टराई, सुरज खड्का र आलिसोन अधिकारीले समान २–२ तथा महेश भर, प्रेम गुप्ता र तुलबहादुर थापा मगरले १–१ विकेट लिए । तिरुपतिका रुपेश कुर्मीले १४, एजाजुल हकले १३, विजय प्रजापतीले १२ र रौनक श्रीवास्तवले ११ रन बनाए ।

होराइजनले १८ ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा अमर मिश्राले २४, निश्चल ज्ञवालीले १७, तुलबहादुर थापा मगरले १३ र आरिफ खानले १२ रनको योगदान गरे । बलिङमा तिरुपतिका रौनक श्रीवास्तवले ३ तथा सन्दीप मौर्य र इन्द्रजित यादवले २–२ विकेट लिए । खेलमा अनिश भट्टराई प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको बुटवल युथले ९ विकेट गुमाएर १ सय १० रन बनायो । जसमा विकाश न्यौपानेले २७, सोनु मल्लाहले २२, हिलसन क्षेत्रीले १५ र कृष्ण चापागाईंले ११ रन बनाए । बलिङमा जेआरका अनमोल श्रीस थापाले ३, विशाल भुसाल र कौशल बेल्बासेले २–२ तथा कृष्ण पन्थीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको जेआरले १७ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ११ रन बनाउँदै जित निकाल्यो । उसको जितमा विशाल भुसालले ४६, राजप्रसाद खनालले २३, गगन अधिकारीले नटआउट १९ र विमल भट्टराईले ११ रनको योगदान गरे । बलिङमा बुटवल युथका निराजन भट्टराई, लक्ष्मण परियार र अजय चौधरीले १–१ विकेट लिए । खेलमा विशाल भुसाल प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

चैत्र १५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी १६ टीम सहभागी छन् । आयोजकका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेताले नगद २५ हजारसहित मेडल, म्यान अफ द सिरिजले ट्रफी र १० हजार, बेष्ट बलर र ब्याटरले ट्रफी र जनही ५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्