पाल्पा ।
तिनाउ गाउँपालिकामा जडिबुटी संरक्षण तथा उपयोग सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । जडिबुटी संरक्षण तथा उपयोग सहकारी संस्थाको आयोजना तथा विश्व खाद्य संगठन नेपाल र फेकोफन (सामुदायिक वन उपभोक्ता महासंघ–नेपाल) को साझेदारीमा “फर्म तथा वन सुविधा परियोजना” अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो ।
तालिममा सहकारी तथा सामुदायिक वनका सदस्यहरूलाई दिगो वन व्यवस्थापन तथा जडिबुटीजन्य बोटबिरुवाको वैज्ञानिक ढंगले कटाई गर्ने विषयमा प्रशिक्षण दिइएको थियो । जडिबुटी विज्ञ तथा वातावरणविद् समीर ढुंगेल र परियोजना संयोजक अनन्त सिलवालले सहजीकरण गरेका थिए ।
तिनाउ गाउँपालिकाभित्रका १५ वटा सामुदायिक वनका उपभोक्ता प्रतिनिधि तथा सहकारीका सदस्य गरी ४२ जनाको सहभागिता रहेको तालिममा सैद्धान्तिक ज्ञानसँगै फिल्ड भिजिट र व्यवहारिक अभ्यास पनि समावेश गरिएको थियो ।
तालिमका क्रममा जंगलमा पाइने तेजपात, तितेपाती र कडिपत्ता जस्ता जडिबुटीहरूको परम्परागत रूपमा वर्षमा एकपटक मात्र गरिने कटाईलाई वैज्ञानिक विधिबाट वर्षमा दुईदेखि तीन पटकसम्म गर्न सकिने विषयमा छलफल गरिएको थियो । सहभागीहरूले जडिबुटी उद्योगसम्बन्धी जानकारी लिनुका साथै तिलोतमा सामुदायिक वनमा प्रयोगात्मक अभ्यास समेत गरेका थिए ।
सहभागी नैना पुरीका अनुसार उपभोक्ताहरूलाई उत्साहित र अग्रसर हुने गरि यस परियोजनाबाट अभियानहरु चलाईएको छ । तालिममा संस्थाका अध्यक्ष गोविन्द पाण्डेय, वडा अध्यक्ष चित्रबहादुर थापालगायतको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमले आगामी एक महिनाभित्र १५ वटा सामुदायिक वन र सहकारीबीच अन्तरक्रिया गरी संयुक्त कार्ययोजना तयार गर्ने निर्णय समेत गरेको छ। साथै तालिमकै अवसरमा तेजपात र तितेपाती संकलन गर्ने विधि तथा पुदिना र तुलसीको रोपणसम्बन्धी व्यवहारिक अभ्यास गराइएको थियो ।




















