काठमाडौँ ।
जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । यस प्रभावका कारण हाल कोशी, मधेश र लुम्बिनी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य क्षेत्रमा पनि आंशिक बदली देखिएको छ ।
विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । साथै कोशी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । यद्यपि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा अन्य पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै रहने विभागले जनाएको छ।




















