बुटवल, ८ चैत ।
बुटवलमा सम्पन्न ब्याडमिन्टन र टेबल टेनिस प्रतियोगिताको उपाधि रोटरी क्लब अफ डाउनटाउनले हात पारेको छ । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सको आयोजनामा शनिबार अन्तर रोट्रयाक्ट तथा रोटरीस्तरीय ब्याडमिन्टन तथा टेबल टेनिस प्रतियोगिता भएको हो ।
प्रतियोगिताको ब्याडमिन्टनतर्फ रोटरी क्लब अफ डाउनटाउनका शम्भु भट्टराई र दल बहादुर क्षेत्रीको जोडीले उपाधि चुमे । देवीनगरस्थित ब्याडमिन्टन क्लबमा भएको फाईनलमा रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका रबिन खड्का र सुभाष सापकोटाको जोडीलाई २१–१०, २१–१९ को सोझो सेटमा पराजित गर्दै भट्टराई र क्षेत्रीको जोडीले उपाधि चुमेका हुन ।
यसैगरि टेबल टेनिस प्रतियोगितामा रोट्रयाक्ट क्लब बुटवल डाउनटाउनका निर्वाचित अध्यक्ष महेश खनाल उपाधि चुमेका छन । फाईनलमा रोटयाक्ट अफ बुटवल स्टारका समिर पाण्डेलाई ३–० को सेटमा पराजित गर्दै खनालले उपाधि चुमेका हुन । प्रतियोगितामा ब्याडमिन्टनमा १६ तथा टेबलटेनिसतर्फ २५ टिमले भाग लिएका थिए ।
कार्यक्रमको एक समारोहका बिच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई बुटवल ब्याडमिन्टन क्लबका तृतिय उपाध्यक्ष भानु खत्री, रोट्याक्टका पास्ट डिआरआर बिक्रम क्षेत्रीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।























