बुटवल, ५ चैत — पछिल्लो समय मधुमेह साझा स्वास्थ्य समस्याका रूपमा फैलिँदै गएको छ । लगभग हरेक घरमा मधुमेहका बिरामी भेटिन थालेका छन्, जसले यसको बढ्दो जोखिमलाई संकेत गर्छ । यही सन्दर्भमा मधुमेह र यसले दीर्घकालीन रूपमा पार्ने असरबारे जनचेतना फैलाउने उद्देश्यले बुटवलमा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको संयुक्त आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा मधुमेह तथा मृगौला परीक्षण गरिएको हो । कार्यक्रमको उद्घाटन लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी का पूर्व डिष्ट्रिक्ट गभर्नर पुरुषोत्तम भक्त प्रधानाङले गरेका थिए । कार्यक्रममा उनले विश्वभर नै मधुमेहविरुद्ध सचेतना अभियानमा लायन्स अगाडी रहेको बताए । उनले मधुमेहका कारण आँखा र मृगौला जस्ता महत्वपूर्ण अंगमा गम्भीर असर पर्ने भएकाले समयमै परीक्षण र जनचेतना अत्यावश्यक रहेको बताए ।
लायन्स क्लब अफ बुटवल तिलोत्तमाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले मधुमेहका बिरामीमध्ये धेरैमा मृगौलासम्बन्धी समस्या देखिन थालेपछि यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको बताए । वर्षमा एक पटक गरिने स्वस्थ्य परीक्षणकै कारण मधुमेहबाट मृगौला, आँखा लगायत अंगमा हुने जटिलता रोक्न सकिने उनको तर्क छ । उनले आगामी चैत ७ गते बुटवल उपमहानगरपालिका–१३ मा स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणसँगै मधुमेह र मृगौला परीक्षण कार्यक्रम आयोजना गरिने जानकारी दिए ।
कान्तिपुर प्रयोगशालाको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा डेढ सयभन्दा बढी स्थानीयवासीले निशुल्क परीक्षण सेवा लिएका थिए । लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीकी अध्यक्ष सीता श्रेष्ठले यस्ता कार्यक्रमबाट समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । स्वास्थ्यकर्मीहरूका अनुसार मधुमेह नियन्त्रणमा राख्न नियमित परीक्षण, सन्तुलित आहार, व्यायाम र चिकित्सकको परामर्श आवश्यक हुन्छ ।
भिडियो रिर्पोट





















