बुटवल, ३ चैत । रुपन्देहीमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको तथ्य अनुगमनका क्रममा खुलेको छ । केही व्यवसायीले ग्यास लुकाएर अभाव देखाउने प्रयास गरेको पाइएको हो ।
सोमबार इलाका प्रशासन कार्यालय बुटवलको नेतृत्वमा ग्यास विक्रेता संघ रुपन्देहीको रोहबरमा बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाका विभिन्न ग्यास डिलरमा संयुक्त अनुगमन गरिएको थियो । अनुगमनका क्रममा १५ वटा डिलरबाट लुकाएर राखिएका ५ सयभन्दा बढी ग्यास सिलिण्डर बरामद गरिएको इलाका प्रशासन कार्यालयका नायब सुब्बा रामप्रसाद शर्माले जानकारी दिए ।
अनुगमनमा हेमानी ग्यास (जितगढी), दिव्य दिवस इन्टरप्राइजेज (झोलुङ्गेपुल), न्यू सफल सप्लायर्स (तामनगर), कृतिका दर्शन (ढवाह), न्यौपाने नव स्टोर (तामनगर), पृथ्वी जनप्रिय स्टोर, बोलबम ट्रेडर्स, ओम शान्ति सप्लायर्स, लाङघाली ग्यास डिलरलगायतका व्यवसायी संलग्न रहेको पाइएको छ ।
अनुगमनका क्रममा सैनामैना–५ स्थित लाङघाली ग्यास डिलरले तोकिएको मूल्यभन्दा करिब ३०० रुपैयाँ बढी लिएर बिक्री गरेको पनि फेला परेको छ । उपभोक्ताबाट असुल गरिएको अतिरिक्त रकम तत्काल फिर्ता गराइएको र सम्बन्धित डिलरलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिने शर्माले बताए ।
यसैबीच, ग्यास बिक्रेता संघ रुपन्देहीका अध्यक्ष प्रदीप प्रसाद पन्थले जिल्लामा मागअनुसार ग्यास आपूर्ति भइरहेको स्पष्ट पार्दै कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्ने व्यवसायीलाई कुनै पनि हालतमा संरक्षण नगर्ने बताए । उनले दोषीमाथि कडा कानुनी कारबाही गर्न प्रशासनसँग आग्रह गरेका छन् । संघले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न तथा अभाव देखिएमा सम्बन्धित निकाय वा संघलाई जानकारी गराउन पनि अनुरोध गरेको छ ।





















