काठमाडौं, ४ चैत ।
हाल देशभर पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ ।
त्यसैगरी, आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश का पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । बागमती प्रदेश, कोशी प्रदेश लगायतका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।




















