Spread the love

काठमाण्डौ, १ चैत ।
श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने सांसदहरूको नाम टुङ्ग्याएको छ । पार्टीकी केन्द्रीय कोषाध्यक्ष समिता राईका अनुसार आदिवासी महिलातर्फ हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलातर्फ अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल तथा आदिवासी जनजातितर्फ पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने टुङ्गो लागेको हो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा उक्त पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै ४ सिट सुरक्षित गरेको थियो । सोही आधारमा पार्टीले चार जना सांसद सिफारिस गर्ने निर्णय गरेको हो । समानुपातिक सांसद छनोटलाई लिएर पार्टीभित्र केही समयदेखि विवाद चुलिएको थियो ।

खस आर्य कोटामा पहिलो नम्बरमा रहेका जीवन विष्टले आन्तरिक मतभेदकाबीच समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत पदका लागि झगडा गर्ने समय नभएको भन्दै पार्टी र मतदाताको सम्मानका खातिर आफूले नाम फिर्ता लिएको बताएका थिए ।

यसअघि समानुपातिक सूचीको विषयमा पार्टीभित्र विवाद बढेपछि पार्टी अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमा ‘भात खाऊ, मेरो टाउको नखाऊ’ भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले समानुपातिक विषयमा अनावश्यक विवाद गर्नेहरूलाई पार्टीबाट निष्कासन गर्नेसम्म चेतावनी दिएका थिए ।

उक्त पार्टीले खोटाङ, भोजपुर र सुनसरी–१ गरी तीन निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ विजय हासिल गरेको छ । समानुपातिकतर्फ पनि थ्रेसहोल्ड पार गरेपछि श्रम संस्कृति पार्टीले राष्ट्रिय दलको हैसियत समेत प्राप्त गरेको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्