बुटवल, ३० फागुन ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ संगमपथस्थित न्यु गुल्मेली रेसुंगा ट्रेडर्स जुत्ता पसलमा शुक्रबार साँझ आगलागी हुँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
राजु श्रेष्ठले सञ्चालन गर्दै आएको जुत्ता–चप्पलको थोक पसल र गोदाममा साँझ करिब ७ः३० बजे अचानक आगो लागेको हो । आगलागीको खबर पाएलगत्तै बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका दमकल, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण पसलभित्र रहेका ठूलो परिमाणका जुत्ता–चप्पल तथा अन्य सामग्री जलेर नष्ट भएको बताइएको छ । घटनाबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिए पनि यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
आगलागीको वास्तविक कारण र क्षतिको विस्तृत विवरणबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
घटनाप्रति बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसहित जनप्रतिनिधिहरुले दुःख व्यक्त गरेका छन् । उनीहरुले क्षतिको मूल्यांकन गरी आवश्यक सहयोगका लागि पहल गरिने बताएका छन्।





















