Spread the love

काठमाडौं, २५ फागुन ।
जसप्रित बुमराहको कसिलो बलिङसँगै भारतले तेस्रोपल्ट टी–२० विश्वकपको उपाधि जित्दै इतिहास रचेको छ । आइतबार सम्पन्न फाइनलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गरेको हो । भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा सबै विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो । योसँगै भारत सबैभन्दा बढी विश्वकप जित्ने पहिलो टोली बनेको छ ।

भारतको विजयले अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा उपस्थित १ लाख समर्थकलाई खुशी बनाएका थिए । अहिलेसम्म यसअघि भारतसँगै इङ्ल्यान्ड र वेस्ट इन्डिजले समान दुईपल्ट विश्वकप जितेका थिए । यसअघि भारतले २००७ र २०२४ मा विश्वकप जितेको थियो । इङ्ल्यान्डले २०१० र २०२२ तथा वेस्ट इन्डिजले २०१२ र २०१६ मा विश्वकप जितेका थिए ।

टस हारेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय ५५ रन बनाएको थियो । पछिल्ला दुई इनिङ्समा क्रमशः अविजित सञ्जु सामसनले ९७ र ८९ रन बनाए । भारतले ६ ओभरको पहिलो पावर प्लेमै विना क्षती ९२ रन जोडेर खेल आफ्नो पक्षमा ढल्काएको थियो ।

सामसन र अभिषेक शर्माले पहिलो विकेटमा ९८ रनको साझेदारी गरेपछि भारतले यस विश्वकपमा आफ्नो दोस्रो उच्च स्कोर बनाएको थियो । जिम्बावेविरुद्धको ‘सुपर एट’ को खेलमा पनि टोलीले २ सय ५८ रन बनाएको थियो ।

बिशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डका ओपनर टिम सिफर्टले सर्वाधिक ५२ रन बनाए । २६ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे । मिचेल स्यान्टनरले ४३ रनको योगदान दिए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न नसक्दा भारत लगातार उपाधि जित्न सफल रह्यो ।

भारतलाई जित दिलाउन पेसर बलर जसप्रित बुमराह निर्णायक बने । उनले ३.५ ओभरमा मात्र १५ रन दिएर ४ विकेट लिए । अक्षर पटेलले ३ विकेट थपे। हार्दिक पाण्ड्या, अभिषेक शर्मा र वरुण चक्रवर्तीले समान एक विकेट लिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्