Spread the love

बुटवल, २५ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष र्दीघ बहादुर केसीले खेलाडीहरूलाई ‘अराजक समूह’ भनेर सम्बोधन गरिएकोप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले एन्फा मुख्यालयमा पुगेर ए डिभिजन लिगको मिति घोषणा गर्न र खेलाडी कल्याणकारी कोषको विवरण सार्वजनिक गर्न माग राख्ने खेलाडीहरूलाई अराजक भन्दै नेपाल कोच संघले जारी गरेको प्रेस विज्ञप्ति अत्यन्त दुर्भाग्यपूर्ण र आपत्तिजनक भएको बताएका छन् ।
केसीले देशको जर्सी लगाएर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरेका खेलाडीहरूलाई यसरी अराजकको संज्ञा दिनु असम्मान मात्र नभई उनीहरूको योगदानको खुला अवमूल्यन भएको उल्लेख गरेका छन् ।

उनले खेलाडीहरूको जायज माग सम्बोधन गर्नुको सट्टा चरित्रहत्या गर्ने शैलीले फुटबल समुदायभित्र अनावश्यक द्वन्द्व सिर्जना गर्ने चेतावनी दिएका छन् । उनका अनुसार हैसियत र संरचनाको हिसाबले खेलाडी संघ र कोच संघ दुवै एन्फा अन्तर्गतका सरोकारवाला संस्था भएकाले कसैलाई माथि वा तल राख्ने अधिकार कसैसँग छैन । एक पक्षलाई अराजक देखाएर अर्को पक्षलाई सही ठहर्याउने प्रवृत्ति खेलकुद संस्कृतिको विपरीत भएको उनले बताएका छन् ।

केसीले उक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने पदाधिकारीहरूले सबै कोचसँग परामर्श गरेर धारणा सार्वजनिक गरेका हुन् वा केही व्यक्तिको व्यक्तिगत विचारलाई सम्पूर्ण कोच समुदायको नाममा प्रस्तुत गरिएको हो भन्ने प्रश्न पनि उठाएका छन् । उनले ए डिभिजन लिग सञ्चालन, खेलाडी कल्याणकारी कोषको पारदर्शिता र नेपाली फुटबलको समग्र विकासका विषयमा खुला संवाद आवश्यक रहेको बताएका छन् । “फुटबलको जग खेलाडी हुन्, उनीहरूको सम्मान नगरी नेपाली फुटबलको भविष्य बलियो हुन सक्दैन,” उनले उल्लेख गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्