बुटवल, १७ फागुन ।
बुटवलको रामनगरस्थित समर्पण बाल गृहको आयोजनामा सञ्चालन गरिएको एक हप्ते अटिजम शिक्षण–सिकाइ सम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ । तालिममा रुपन्देहीका विभिन्न विद्यालयमा पूर्वप्राथमिक तहमा अध्यापनरत झण्डै दुई दर्जन महिला शिक्षकहरूको सहभागिता रहेको थियो ।
तालिम समापन समारोह तथा प्रमाणपत्र वितरण कार्यक्रममा बुटवल उपमहानगरपालिका–१० का वडाध्यक्ष बलबहादुर पुनले मानवीय विकासमा यस्ता तालिमहरूको भूमिका महत्वपूर्ण हुने बताए । फरक क्षमता भएका सानाबालबालिकाको रेखदेख र शिक्षादिक्षा सहज कार्य नभएको उल्लेख गर्दै उनले समर्पण बाल गृहले चुनौतीपूर्ण क्षेत्रमा सकारात्मक पहल गरेको भन्दै प्रशंसा गरे । उनले अटिजम सम्बन्धी ज्ञान र सीप शिक्षण–सिकाइ प्रक्रियामा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै तालिममा सिकेका विषयवस्तुलाई व्यवहारमा कार्यान्वयन गर्न सहभागी शिक्षकहरूलाई आग्रह गरे ।
कार्यक्रममा लायन्स इन्टरनेशनलका डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराई, पूर्व गभर्नर पुरुषोत्तम प्रधानाङ्ग, महेन्द्र नारायण श्रेष्ठ तथा फिल्ड कोअर्डिनेटर रिता बोहरालगायतले अटिजम फरक अवस्था भएकाले सोही अनुसार शिक्षक र अभिभावकले विशेष ध्यान दिनुपर्ने धारणा राखे । कार्यक्रममा समर्पण बाल गृहका अध्यक्ष डा. शान्ता शर्माले स्कुल स्थापनाकालमा आएको कठिनाई र संचालनका चुनौतीका बारेमा प्रकाश पारे ।
कार्यक्रममा केन्या रमेश बराल, डा. विनोद पौडेल, रञ्जु शर्मा, अञ्जु थापा र लक्ष्मी पोखरेल भुसाल, गृहका उपाध्यक्ष पुष्पा कंडेल, सचिव सञ्जीवना आचार्यले अटिजमको प्रकृति, व्यवहार व्यवस्थापन, शिक्षण विधि, रेखदेख तथा अवस्था परिवर्तनसम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।




















