बुटवल, ५ फागुन ।
रुपन्देहीमा जारी सातौ संस्करणको यू–१९ खड्ग प्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगितामा अन्तिम चार टिमको टुगो लागेको छ । मंगलबार भएको खेलमा पाहुना टोली पोखरा क्रिकेट एकेडेमीलाई ६ बिकेटले पराजित गर्दै तिलोत्तमा अन्तिम चारमा स्थान बनाएको हो ।
समुह ए बाट न्यू होराईजन विजेता र नेपथ्य तिलोत्तमा उपविजेता बन्दै अन्तिम चारमा स्थानमा पुग्न सफल भएको छ । यसैगरि समुह बि तर्फ वेष्टन क्रिकेट एकेडेमी र सिईसि काठमाण्डौ अन्तिम चारमा प्रवेश गरेका छन । तर समुह विजेता र उपविजेताको टुगो बुधबार दुई बिचमा हुने खेलबाट लाग्ने छ । पोखरा र रुपन्देही भने समान २–२ खेलमा पराजित हुदै समुह चरणबाट बाहिरिएका छन ।
एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा भएको प्रतियोगितामा टस जितेर नेपथ्यले बलिङ्ग रोजेपछि पोखराले २३.४ ओभरमा सबै बिकेट गुमाएर केवल १११ रन बनायो । पोखराका अनिकेत गजुरेलले ४३ बलमा ४७ तथा रोहित चन्दले ४९ बलमा ३५ रनको योगदान दिए । कम स्कोरमा रोक्न आशुतोष पाण्डेयले ४ तथा सागर भण्डारीले ३ बिकेट लिए ।
मध्यम लक्ष्य पछ्याएको नेपथ्य तिलोत्तमा २०.३ ओभरमा केवल ४ बिकेटको नोक्सानीमा भेटायो । नेपथ्य तिलोत्तमाका सन्दिप यादव अर्धसतकीय योगदान दिए । उनले ५८ बलमा ५० तथा अमन बोहराले २७ बलमा १७ रन बनाए । खेलमा नेपथ्य तिलोत्तमाका आशुतोष पाण्डेय प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको फाईनल खेल फागुन ९ गते हुनेछ ।





















