बुटवल, ४ फागुन ।
रुपन्देहीमा जारी सातौ संस्करणको यू–१९ खड्ग प्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सेलेन्स सेन्टर काठमाण्डौ विजयी भएको छ । सोमबार भएको खेलमा सिईसिले रुपन्देही क्रिकेट एकेडेमीलाई ३ बिकेटले पराजित गरेको हो ।
एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा भएको प्रतियोगितामा टस जितेर सिईसिले बलिङ्ग रोजेपछि मैदानमा उत्रेको रुपन्देहीले २०.१ मा केवल ८६ रन बनायो । रुपन्देहीका मनन खानले २९ बलमा १३, समिर अलि मुसलमानले २३ बलमा ३६ तथा असिफ अहमदले २२ बलमा १३ रनमात्र बनाए ।
कम स्कोरमा रोक्न सिईसिका निमा ठोकराले ६ तथा दिनेश बोहराले २ बिकेट लिए । झिनो लक्ष्यलाई सिईसिले १६.५ ओभरमा भेटायो । सिईसिको जितमा ईन्जामुल हकले २६ बलमा नटआउट २० रनको योगदान दिए । यसैगरि दिनेश बोहराले १२ बलमा १७ तथा रनबिर यादवले २० बलमा १६ रनको योगदान दिए । रुपन्देहीका करण यादवले शानदार ५ तथा सुजन रानाभाटले २ बिकेट लिएपनि जितका लागि पर्याप्त भएन । खेलमा सिईसिका निमा ठोकरा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगितामा नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमी, न्यु होराईजन स्पोर्टस क्लब क्रिकेट, एक्सलेन्स सेन्टर काठमाण्डौ, पोखरा क्रिकेट एकेडेमी, रुपन्देही क्रिकेट, वेष्ट्रन क्रिकेट एकेडेमीले उपाधिका लागि प्रतिस्प्रर्धा गर्दछन । प्रतियोगिताको फाईनल खेल फागुन ९ गते हुनेछ ।





















