बुटवल, २९ माघ ।
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूको देश दौडाहा तीव्र बनेको छ । यसैक्रममा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्मा बिहीबार रुपन्देही आउने भएका छन् ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणका अनुसार शर्मा बिहीबार बिहान ११ बजे भैरहवास्थित युनिक बैंक्वेटमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । कार्यक्रममा आम निर्वाचनलाई लक्षित गर्दै पार्टीको चुनावी रणनीति, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशाबारे मार्गदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन केन्द्रिय नेताहरु जिल्ला–जिल्लामा पुगेर कार्यकर्तासँग अन्तरक्रिया र प्रशिक्षणमा जुटिरहेका छन् । सोही अभियानअन्तर्गत उपसभापति शर्माले रुपन्देहीका नेता–कार्यकर्तासँग भेटघाट तथा छलफल गर्नेछन् ।
रुपन्देहीका पाँच प्रतिनिधि सभा क्षेत्रमा नेपाली काँग्रेसले उम्मेदवार टुंगो लगाइसकेको छ। क्षेत्र नम्बर १ मा हिराबहादुर खत्री, क्षेत्र नम्बर २ मा चुन्नप्रसाद पौडेल, क्षेत्र नम्बर ३ मा सुशिल गुरुङ, क्षेत्र नम्बर ४ मा आशुतोष मिश्रा र क्षेत्र नम्बर ५ मा भरतकुमार शाह उम्मेदवार रहेका छन् ।
कार्यक्रममा उम्मेदवारहरूसहित पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, लुम्बिनी प्रदेशका पदाधिकारी तथा सदस्यहरू, पाँचवटै क्षेत्रीय सभापतिहरू, प्रदेशसभा ‘क’ र ‘ख’ समितिका पदाधिकारी, पालिका तथा वडाका सभापतिहरूको अनिवार्य उपस्थिति रहने जनाइएको छ ।
काँग्रेसले निर्वाचन नजिकिँदै गर्दा संगठन परिचालनलाई तीव्र बनाउँदै कार्यकर्तालाई सक्रिय बनाउन केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।





















