बुटवल,१९ माघ । रूपन्देही क्षेत्र नं. २ अन्तर्गतका विभिन्न मतदान स्थलहरूको अनुगमन तथा निरीक्षण गरिएको छ । आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउनका लागि सैनामैना नगरपालिका वडा नं. १, २, ३ र ४ तथा बुटवल उपमहानगरपालिका वडा नं. १२ र १३ मा रहेका मतदान स्थलहरूको स्थलगत निरीक्षण गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अनुगमन टोलीले मतदान स्थलको भौतिक अवस्था, मतदाता पहुँच, सुरक्षा व्यवस्था, अपाङ्गता भएका व्यक्तिहरू तथा ज्येष्ठ नागरिकका लागि आवश्यक पूर्वाधार लगायतका विषयमा अवलोकन गरेको छ । निरीक्षणका क्रममा देखिएका कमी कमजोरीहरू तत्काल सुधार गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएको जनाइएको छ । निर्वाचन अधिकृतको कार्यालयले सबै मतदाताले भयमुक्त वातावरणमा मतदान गर्न पाउने सुनिश्चितताका लागि नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।





















